यू–१६ इस्टर्न जोन क्रिकेट : थाइल्याण्डलाई २२५ रनको फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौ, असार १३ । नेपाली बलरका अघि निरीह सावित भएपछि थाइल्याण्ड सस्तोमा समेटिदा नेपालले विजय हात पारेको छ ।

मलेसियामा जारी एसीसी यू–१६ इस्टर्न जोन कप क्रिकेटमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै नेपालले अन्तिम चरणमा स्थान बनाएको छ । नेपाल पहिलो जित हात पार्दा नै सेमिफाइनलमा पुगेको हो ।

नेपालले दिएको २७० रनको लक्ष्य पछ्याउने क्रममा थाइल्यान्ड ४४ रनमै सीमित बन्यो । सन्तोष यादवले पाँच विकेट लिएपछि थाइल्यान्ड १३ ओभर २ बलमा अल आउट हुन पुगेको थियो ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालका लागि निरज कुमार यादवले ४३ बल खेलेर ७ चौका र ६ छक्काको सहयोगमा ७४ रन बनाएर बाहिरिए । यादवले २१ बलमै अर्धशतक पूरा गरेका थिए । नेपालका लागि नरेन भट्टले अविजित ५५ रनको योगदान गर्दा सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन बनाए ।

थाइल्यान्डका लागि इसान बेनर्जीले १६ र दनुफन फङ्योनपिनितले १२ रन जोडे ।

नेपाल रहेको समूह एमा मलेसिया र थाइल्यान्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इण्डोनेसिया छन् ।

नेपालले अब दोस्रो खेलमा शुक्रबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ ।