काठमाडौँ, असार १४ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् ।
बिहीवार काठमाडौँमा मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेता भण्डारीले २०४६ सालको जनआन्दोलनको एक सुत्रधार भएको भन्दै नेपाली राजनीतिमा उनको भूमिका अवस्मरणीय बताएकी हुन् ।
उनले भनिन् ‘जननेता मदन भण्डारी २०४६ सालको जनआन्दोलनको एक सूत्रधार हुनुहुन्थ्यो । आन्दोलनको सफलतापछि राष्ट्रियताको लागि उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय छ ।’
समाज रुपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको उनको भनाई छ ।
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार पनि प्रदान गरेकी छन् ।
यस वर्ष सो मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी डाक्टर मिङमार ग्याल्जेन शेर्पाले प्राप्त गरेका छन् ।
भने मदन भण्डारी रुपान्तरण राष्ट्रिय पुरस्कार हेटौंडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई प्रदान गरिएको छ ।
उनीहरुलाई जनही एक लाख र सम्मान पत्रद्वारा सम्मानित गरिएको छ ।

















