उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं । काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएको छ ।

जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) काठमाडौंका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्यांकअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ ।

विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो ।

नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौंको पानीपोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

विगतमा जुलाई, अगस्टमा धेरै वर्षा हुने गरेको थियो । पछिल्ला वर्षहरुको विवरणअनुसार सेप्टेम्बरमा बढी वर्षा हुने गरेको छ ।