झ्याप्लेखोला घटनापछि धादिङका प्रजिअ पाण्डे गृहमा तानिए

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सीमाक्षेत्र झ्याप्लेखोलामा पहिरोले गाडी पुरेको प्रकरणमा धादिङका प्रमुख जिल्ला अधिकारी गृहमन्त्रालयमा तानिएका छन् ।

असोज ११ गते भीषण वर्षाबीच यात्रुवाहक सवारीसाधनलाई राजमार्गमा गुड्नबाट नरोक्दा झ्याप्लेखोलामा ३ वटा गाडी पुरिएको निष्कर्षसहित धादिङका प्रजिअ राजेन्द्रदेव पाण्डेलाई गृहमा तानिएको हो ।

मौसम पूर्वानुमान महाशाखाको पूर्वचेतावनीपछि गृह मन्त्रालयले रातिको समयमा नारायणगढ–मुग्लिङ र मुग्लिङ–काठमाडौं सडकखण्डमा राति सवारी नचलाउन र नचलाउने व्यवस्था गर्न मातहतलाई निर्देशन दिएको थियो ।

तर उक्त निर्देशन पालना नहुँदा धादिङमा पर्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पनि बिनारोकटोक सवारी साधन चलेका थिए ।