काठमाडौं, असाेज २९ गते । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् ।
जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी मंगलबार सामाजिक सञ्जालमार्फत दिएको छ । श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् ।
पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो।
उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । पछिल्लो समय उनले नेपाली राष्ट्रिय टोली सम्हाल्दा नेपाली टिम विभाजित अवस्थामा थियो । त्यो अवस्थामा उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएर क्यानडा फर्किएका थिए ।
क्यानडा फर्किने क्रममा उनले नेपाली क्रिकेटको परिस्थिति फेरिएमा र आफूले खुलेर काम गर्न पाएमा फेरि नेपाल फर्किने बताएका थिए ।
अन्ततः उनले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएलमा जनकपुर बोल्ट्सका खेलाडीलाई प्रशिक्षण दिने छन् । एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।


















