पाँच दिने भ्रमण सकेर आज स्वदेश फर्किँदै भारतीय सेनाध्यक्ष द्विवेदी

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज स्वदेश फर्किदै छन् ।

पाँच दिने औपचारिक भ्रमणमा गत बुधबार काठमाडौं आएका द्विवेदी आज बिहान स्वदेश फर्किन लागेका हुन् । उनी बिहान पौने १० बजे स्वदेश फर्किने कार्यतालिका रहेको छ।

बुधबार काठमाडौं आएका द्विवेदीले सोही दिन पशुपतिनाथको दर्शन गरेका थिए ।

बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका द्विवेदीले सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए। बिहीबार नै उनले हनुमान ढोका दरबार क्षेत्रको अवलोकनसमेत गरे।

शुक्रबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गरेका थिए । शनिबार पनि उनले विभिन्न ठाउँको भ्रमण गरेका थिए ।