तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ निवासी मनप्यारी चौधरी अहिले व्यवसायमा ब्यस्त छिन् । उनको बारीमा काउलीका बोट उम्रिएका छन् । त्यही हेरचाहमा उनको दिन बितिरहेका छन् । त्यस्तै मुक्तकम्लरी तुलसीपुर–१८ बकुलाई निवासी आशा चौधरी पनि अहिले दिनभर व्यस्त नै छिन् । उनी अहिले बाख्रापालनमा ब्यस्त छिन् । तुलसीपुर–१६ डोक्रेना निवासी मुक्तकम्लरी सुनिता चौधरी पनि गोलभेडाखेती र भेडापालनमा व्यस्त छिन् ।
उनीहरु केही उदाहरण मात्रै हुन् । मुक्त कम्लरी विकास मञ्चले चलाएको घुम्ती कोषबाट रकम लिएर उनीहरु व्यवसायमा जोडिन थालेका हुन् । घुम्ती कोषबाट ३० हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यसले आफूहरुलाई व्यवसाय गर्न सहज भएको व्यवसायी सुनिता चौधरीले बताइन् ।
“हामी पहिले के गर्ने, कसो गर्ने भन्ने थियो, दैनिकी जुटाउन पनि धौ धौ पथ्र्यो”, उनले भनिन्, “अहिले घुम्ती कोषबाट रकम लिएर आफ्नो व्यवसाय गर्न थालेका छौँ, यसले हामीलाई ब्यस्त पनि बनाएको छ, आम्दानीको बाटो पनि खुलेको छ ।” तालिम पनि पाउने र घुम्ती कोष पनि पाउने भएपछि महिलालाई व्यवसाय गर्ने आँट पनि बढेको छ ।
मुक्त कम्लरी तथा न्यून आयस्तर भएका महिलालाई लक्षित गरी आयस्तरमा जोड्न थालिएको हो । मुक्त कम्लरी विकास मञ्चले तुलसीपुरका वडा नं १५, १६ र १८ का महिलालाई आयआर्जनमा जोड्नका लागि कार्यक्रम चलाएको छ । एक वर्षमा ३० जनालाई घुम्ती कोषबाट व्यवसायमा जोडिएको छ भने १४ जनालाई बङ्गुर, बाख्रापालनलगायत तालिम प्रदान गरिएको थियो ।
तालिम प्राप्तहरुलाई बङ्गुरका पाठासमेत उपलब्ध गराइएको कार्यक्रम संयोजक सुलोचना चौधरीले बताइन् । त्यस्तै विभिन्न सचेतनामूलक तथा व्यावसायिक तालिमसमेत प्रदान गर्ने गरिएको छ । त्यस्तै तीन वडामा तीन युवा क्लबसमेत गठन गरिएको छ । युवा क्लबहरुले बाल विवाह न्यूनीकरण, सचेतनामूलक सडक नाटक देखाउँदै आएका छन् । तीन वडामा सात वटा समूह पनि बनाइएको छ ।
मुक्त कम्लरी, दलित, अतिविपन्न महिलालाई आम्दानीमा जोड्न गएको वर्षदेखि ‘मुक्त कम्लरी सशक्तीकरण परियोजना’ सञ्चालित रहेको मञ्चका उपाध्यक्ष निर्मला चौधरीले बताउनुभयो । आइएम नेपालको सहयोगमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो । न्यून आर्थिक अवस्था भएकालाई व्यवसायमा जोड्ने गरी आएको कार्यक्रमले समाजलाई आत्मनिर्भरको बाटोतर्फ उन्मुख गराउने तुलसीपुरका प्रमुख टीकाराम खड्काले बताए । “यस्ता कार्यक्रमले समाजमा आत्मनिर्भर बनाउँछ, आम्दानीका स्रोत बढाउँछ”, उनले भने “यस्ता कार्यक्रम निरन्तर चल्नुपर्छ ।”

















