सिटिजन्स बैंकको १८औं वार्षिकोत्सव, नयाँ सेवा सुरुवात

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सात वटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालनका साथै २०० वटा शाखाहरू मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिब रु २ खर्व ०२ अर्ब रहेकोमा कर्जा तर्फ रु १ खर्व ७३ अर्ब परिचालन गरेको छ ।बैंकले १८औं वार्षिकोत्सवको अवसरमा आज वैशाख ७ गते बिहानै सात वटै प्रदेशमा करिब ९२१ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’ भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटल सँगको सहकार्यमा

सात वटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

डिजिटल बैङ्किङलाई उच्च प्राथमिकतामा राखी ‘Brick Banking to Click Banking’ भन्ने मूल मन्त्र लाई आत्म साथ गर्दै सिटिजन्स मोबाइल बैङ्किङ App मार्फत ट्याप एन्ड पे (Tap & Pay) सेवा तथा नेपालमै पहिलो पटक Cross Bank Teller QR भुक्तानी सेवा सञ्चालनमा

ल्याइएको छ । सिटिजन्स बैंकका मोबाइल बैङ्किङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैङ्किङ सेवा मार्फत Offline माध्यमबाट नै रु.पाँच हजार सम्मको भुक्तानी Tap & Pay मार्फत सहज रूपमा गर्न सक्नुहुनेछ । साथै,बैंकले नेपालमै पहिलो पटक Cross Bank Teller QR प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैङ्किङ मार्फत CrossBank Teller QR लाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।