अण्डाको मूल्य फेरि उकालो

पछिल्लो समय घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ । लागत मूल्यसमेत नपाउँदा चिन्तित बनेका किसानले मूल्य बढेसँगै केही राहत महसुस गरेका छन् ।

गत वर्ष प्रतिक्रेट (३० वटा) अण्डाको मूल्य ५२५ रुपैयाँ पुगेको थियो । तर, पछिल्लो समय घटेर ३५० रुपैयाँमा झरेको थियो । अहिले मूल्य बढेर ४५० पुगेको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि ठूलो अण्डाको फार्म समर्थन मूल्य ४३०, मध्यमको ३८० र ‘एक्सएल’ अण्डाको ४५० रुपैयाँ तोकिएको छ ।

एक्सएल अण्डाको प्रतिपेटी (सात क्रेट) मूल्य ३१४०, ठूलो अण्डाको ३००० र मझौलाको २६५० रुपैयाँ कायम गरिएको छ

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ पर्छ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डाको प्रतिपेटी ३६७५ रुपैयाँ पुगेको थियो । गर्मीका कारण उत्पादन घटेको र बजारमा माग बढेकाले अण्डाको मूल्य उकालो लागेको अध्यक्ष पोखरेलले बताए ।

उनका अनुसार गर्मीका कारण कुखुरामा विभिन्न रोग देखिँदा उत्पादनमा गिरावट आएको छ । सङ्घका सचिव मदन पोखरेलले अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेकाले मूल्य क्रमशः बढ्ने देखिएको बताए ।

अहिले दैनिक ३० लाख हाराहारी अण्डा उत्पादन भइरहेको छ । कुखुरापालनमा लागत मूल्य नपाउँदा धेरै किसान विस्थापित भएका छन्