१६ वैशाख, काठमाडौं । उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका प्रतिवादीहरूलाई जन्मकैदको सजाय सदर गरेको छ ।
उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले मंगलबार घटनाका २३ प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो । इजलासले जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको छ ।
उच्च अदालत सुर्खेतले नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका प्रतिवादीहरूलाई जन्मकैदको सजाय सदर गर्दा जातीय विभेदको कसुर भने बदर गरेको छ
उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले सोती घटनामा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला आंशिक सदर गरेको जानकारी दिए । ‘जातीय छुवाछुतबाट सबै प्रतिवादीलाई सफाइ र केही उल्टी फैसला भएको छ । पूर्णपाठ आउन बाँकी छ,’ थापाले भने ।
गत १९ मंसिर २०८० मा जिल्ला अदालत रुकुमपश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । ‘जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो । त्यसलाई उच्च अदालतले बदर गरेको छ,’ उपरजिस्ट्रार थापाले भने ।
जिल्ला अदालतको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए ।










