काठमाडौँ, १५ माघ । नेपाली पुरुष क्रिकेट टोलीले एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास टी–२० खेल खेल्दै छ। आगामी टी–२० विश्वकपको तयारीस्वरूप नेपाली टोलीले अभ्यास र वार्मअप खेलहरूलाई तीव्र बनाएको हो।
नेपालले फेब्रुअरी ७ देखि सुरु हुने टी–२० विश्वकपमा समूह चरणका खेल खेल्नेछ। समूह चरणमा नेपालले इंग्ल्यान्ड, इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
विश्वकपअघि नेपालले थप दुई वार्मअप खेल पनि खेल्नेछ। त्यसअनुसार फेब्रुअरी ३ मा यूएई र फेब्रुअरी ५ मा क्यानडासँग अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ। यी खेलहरूलाई टोली संयोजन, खेल रणनीति र खेलाडीको लय परख गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
टोली व्यवस्थापनका अनुसार अभ्यास खेल र वार्मअप खेलले विश्वकपअघि खेलाडीहरूको आत्मविश्वास बढाउने र प्रतिस्पर्धात्मक तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाली टोली विश्वकपमा राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ।


















