काठमाडौँ, २३ माघ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संरचनागत रूपान्तरणविना समावेशिता अपूर्ण रहने बताउनुभएको छ । आज राष्ट्रिय दलित कर्मचारी समाज नेपालद्वारा प्रकाशित ‘समानुपातिक समावेशिता : जेनजी आन्दोलनको अपेक्षा र संरचनात्मक रूपान्तरण’ नामक पुस्तकको विमोचन तथा सम्मान कार्यक्रममा अध्यक्ष विश्वकर्माले समावेशिता केवल सङ्ख्यामा सीमित नभई संरचनागत परिवर्तनसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।
“टाउका गन्नु मात्र समावेशिता होइन, त्यो प्रवेश गर्ने बिन्दु मात्रै हो”, उहाँले भन्नुभयो, “सिंहदरबारभित्रको सोच र कार्यशैली परिवर्तन नभएसम्म देशमा वास्तविक रूपान्तरण सम्भव हुँदैन ।” उहाँले शक्तिमा रहेका वर्गले धर्मको आडमा शोषण गरिरहेको उल्लेख गर्दै दलित समुदायका सकारात्मक पक्षहरूको प्रचारप्रसारमा हिच्किचाउन नहुने धारणा राख्नुभयो । समाजका अध्यक्ष जयबहादुर विश्वकर्माले समावेशितालाई प्रभावकारी बनाउन संविधान संशोधनमा समेटिनुपर्ने विषयहरूको चर्चा गर्दै समावेशिता र संरचनात्मक रूपान्तरणका विषयमा थप बहस र जागरण आवश्यक रहेको बताउनुभयो । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले समाजमा विभेद क्रमशः घट्दै गएको उल्लेख गर्दै वर्गीय समुन्नतिका लागि सबै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक चेतना बढेको नयाँ पुस्ताले आफ्नो क्षमता उजागर गर्दै समाजमा रहेको विभेद न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
दलित अधिकारकर्मी कमला हेमचुरीले रूपान्तरणका लागि निरन्तर अघि बढ्नुपर्ने र समतामूलक समाज निर्माणमा आरक्षणमा मात्र सीमित हुन नहुने बताउनुभयो । पूर्वसचिव डा मानबहादुर विकद्वारा लिखित उक्त पुस्तक राष्ट्रिय दलित कर्मचारी समाज नेपालले प्रकाशन गरेको हो । सो अवसरमा समाजले निजामती सेवामा प्रवेश गरेका नवकर्मचारीहरू मिलन विश्वकर्मा, भरत नेपाली, मीना नेपाली, गङ्गा सुन्दास, खगेन्द्र बर्देवा, झक्कड सिंह विश्वकर्मा र बाबुराम भूललाई सम्मान गरेको थियो ।


















