काठमाडौँ — मेटा कम्पनीका सिइओ मार्क जुकेरवर्गले आफ्नो काममा सहयोग गर्नका लागि व्यक्तिगत एआई एजेन्ट तयार गरिरहेको अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले जनाएको छ । उनले कम्पनीको दैनिक काममा एआईको प्रयोग बढाउन चाहिरहेका छन् ।
छिटोभन्दा छिटो सुचना लिनका लागि उनी एआई एजेन्टको सहायता लिन चाहन्छन् । उनी कम्पनीका हरेक मानिससँग व्यक्तिगत एआई एजेन्ट हुनुपर्ने मान्यता राख्छन् ।
एआई एजेन्टले प्रयोगकर्ताको तर्फबाट सबै कामहरु स्वचालित नै गरिदिन्छ । सुचनाको खोजी, छुट्टीको योजनालगायत यसले बनाउँछ । जसमा थोरैमात्र मानवीय हस्तक्षेप गरे पुग्छ ।
जुकेरवर्गले मेटाका कर्मचारीहरुको कामको चाप बढाउनका लागि भविष्यमा एआईलाई कार्यालयमा बृहत्तर रुपमा अबलम्बन गर्ने नीति लिएका छन् । मेटामा अहिले झन्डै ७८ हजार मानिसले रोजगारी पाएका छन् ।
मेटाका कर्मचारीहरुले अहिले पनि सेकेन्ड ब्रेनजस्ता एआई टुल प्रयोग गरिरहेका छन् । यसले दस्तावेज व्यवस्थापन गर्न र सही ठाउँमा राख्न मद्दत गर्छ । अर्को एआई टुल ‘माई क्लअ’ व्यक्तिगत एआई एजेन्ट हो । जसले मानिसका व्यक्तिगत सहयोगी जसरी नै अन्य एजेन्टसँग सञ्चार गर्छ ।
मेटाले यसै महिनाको सुरुवातमा मोल्टबुक नामक एआई च्याटबट्सहरुको सामाजिक सञ्जाल तयार गरेको थियो । यस कम्पनीले आन्तरिक रुपमा पनि म्यासेजिङ बोर्ड तयार गरेको छ । जसमा मोल्टबुककै विशेषताहरु छन् ।
यहाँ एआई एजेन्टहरुले एकअर्कासँग कुराकानी गर्नसक्छन् । मेटाले गत वर्ष एआई एजेन्ट कम्पनी मानस पनि खरिद गरेको थियो ।


















