आमा सम्मानित भए मात्र समाज सभ्य र राष्ट्र समृद्ध बन्छ : मन्त्री वादी

काठमाडौँ । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले सम्पूर्ण आमाहरू प्रति श्रद्धा व्यक्त गर्दै शुभकामना दिएकी छन्। आमालाई त्याग, माया, सहनशीलता र निस्वार्थ सेवाको सिङ्गो संसारका रूपमा चित्रण गर्दै मन्त्री वादीले सन्तानका लागि आमाले गर्ने समर्पण नै सबैभन्दा उच्च मानवीय मूल्य भएको बताएकी हुन्।

आमाले बिना कुनै अपेक्षा र पारिश्रमिक आफ्नो सम्पूर्ण जीवन सन्तानको सुखका लागि खर्चिने पक्षलाई उनले विशेष स्मरण गरेकी छन्। यस विशेष दिनले सबै आमाप्रति कृतज्ञ बन्ने अवसर प्रदान गर्नुका साथै प्रत्येक नागरिकलाई आफ्नो जिम्मेवारी सम्झाउने प्रेरणा दिएको मन्त्री वादीको भनाइ छ।

आमाले भुइँमा बसेर र अनेकौँ कठिनाइ सहेर पनि आफ्नो कर्तव्य शतप्रतिशत निभाए जस्तै हामी सबैले पनि मन, वचन र कर्मले समाज र देशको हितका लागि इमानदारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएकी छन्। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आमाहरूको सम्मान र हितका लागि लाग्नु नै आजको दिनको वास्तविक सार्थकता हुने उनले उल्लेख गरेकी छन्।

मन्त्री वादीले हरेक आमाको सम्मान, सुरक्षा र गरिमामय जीवन सुनिश्चित गर्न आफू र आफ्नो मन्त्रालय निरन्तर प्रयासरत रहने प्रण समेत गरेकी छन्। जब समाजमा आमा सम्मानित हुन्छिन्, तब मात्र समाज सभ्य बन्ने र राष्ट्र समृद्धिको दिशामा अघि बढ्ने उनको विश्वास छ।

प्रत्येक आमाको आँखामा खुसी देख्ने र समग्र ‘नेपाल आमा’ लाई हाँसिरहेको हेर्ने आफ्नो चाहना रहेको बताउँदै उनले आमाहरूको गरिमालाई उच्च राख्न सबैलाई आह्वान गरेकी छन्।