अमेरिकाद्वारा इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा,

अमेरिकाले इरानसँग जारी युद्धविरामको अवधि लम्ब्याउने घोषणा गरेको छ। यद्यपि, होर्मुज जलमार्ग र इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी भने यथावत रहने अमेरिकाले स्पष्ट पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने निर्णय गरेका हुन्। उनका अनुसार पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शाहबाज सरिफको अनुरोधपछि अमेरिकाले यो कदम चालेको हो।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा राष्ट्रपति ट्रम्पले इरानी सरकार ‘गम्भीर रूपमा विभाजित मानसिकता’ मा रहेको र त्यहाँको नेतृत्व एवं निर्णय प्रक्रिया स्पष्ट नभएको दाबी गरेका छन्। उनले इरानलाई एकीकृत प्रस्ताव तयार गर्ने समय दिनका लागि सम्भावित सैन्य आक्रमण स्थगित गरिएको बताएका छन्।

यससँगै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनालाई नाकाबन्दी जारी राख्न र जुनसुकै परिस्थितिका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। इरानबाट स्पष्ट प्रस्ताव नआएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म यो युद्धविराम कायम रहने जनाइएको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पको यो कदमले तत्कालै पूर्ण युद्धको स्थिति नआउने संकेत गरेको छ। अमेरिकाभित्रको राजनीतिक दबाब र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पर्न सक्ने प्रभावका कारण पनि यस्तो निर्णय लिइएको हुनसक्ने अनुमान गरिएको छ।