बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएलगत्तै गृह मन्त्रालय पुगेर उनी निजी सवारीमा फर्किएका हुन्।
अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी सार्वजनिक भएपछि गुरुङमाथि राजीनामाको चौतर्फी दबाब परेको थियो।
२६ दिनअघि मात्रै नियुक्त भएका उनले आफूमाथि निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गरेको बताउँदै पद त्याग गरेका हुन्।
मन्त्रालयबाट बाहिरिने क्रममा गुरुङको हाउभाउ निकै स्वभाविक देखिन्थ्यो। उनले त्यहाँ उपस्थित सञ्चारकर्मीहरूलाई मुस्कुराउँदै हात जोडेर अभिवादन गरे र निजी गाडीमा बाहिरिए।
प्रधानमन्त्री बालेन शाहले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने निर्णय गरेका छन्। गुरुङमाथि लागेका आरोपबारे छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्ने तयारी समेत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गुरुङमाथि ‘हामी नेपाल’ नामक सामाजिक संस्थाको रकम व्यक्तिगत खातामार्फत कारोबार गरेको र माइक्रो इन्स्योरेन्स लगायतका क्षेत्रमा शंकास्पद लगानी गरेको आरोप लागेको छ।राजीनामा दिनुअघि उनले प्रधानमन्त्री शाहसँग भेट गरी आफूमाथि लाग्ने आरोपको सामना गर्न तयार रहेको बताएका थिए।
विवादका बीच पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री सुधन गुरुङ मुस्कुराउँदै मन्त्रालयबाट बिदा भएका छन्।


















