सुर्खेत । नेपाली चलचित्रको प्रवद्र्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु हुँदैछ।
“घूमौं कर्णाली, हेरौं कर्णाली” भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले कर्णाली क्षेत्रलाई चलचित्र र पर्यटनको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन तथा चलचित्र पर्यटन संवाद कार्यक्रम बैशाख ११ गते सुर्खेतको वीरेन्द्रनगरस्थित होटल शुभमा हुनेछ । त्यस्तै, बैशाख १२ गते सल्यानको कुपिण्डेदहमा चलचित्र पर्यटन समारोह आयोजना गरिनेछ ।
महोत्सवअन्तर्गत शहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने विविध कार्यक्रम सञ्चालन गरिनेछन् । कर्णालीमा प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्यटन विकास तथा चलचित्रसम्बन्धी गतिविधि न्यून रहेको अवस्थालाई मध्यनजर गर्दै विगत तीन वर्षदेखि महोत्सवले नयाँ अभियानको थालनी गरेको हो । यस अभियानमार्फत कर्णालीका कथा, भाषा, भेषभूषा, कला, संस्कृति, परम्परा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।
महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीको सम्भावनालाई उजागर गर्न महोत्सव महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे । ‘कर्णालीमा चलचित्र पर्यटनको अत्यन्तै ठूलो सम्भावना छ, उनले भने, ‘यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सेतुको काम गर्नेछ ।’


















