काठमाडौँ — नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकबाट निजी क्षेत्र निरुत्साहित भएको छ ।
अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजस्व एवं पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने निजी क्षेत्रका तीनवटै छाता संगठनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
धितोपत्र र बिमासम्बन्धी कसुरमा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा बिहीबार पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान जारी राखेकै बेला प्रहरीले समेत धितोपत्र र बिमासम्बन्धी कसुरमा गोल्छामाथि अनुसन्धान अघि बढाएको हो ।
पूर्वअध्यक्ष पक्राउ परेपछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै पनि उद्योगी व्यवसायीलाई पक्राउ गरिएको सन्दर्भमा आर्थिक कसुरका सम्बन्धमा ‘पहिले सुन्ने अनि कसुर प्रमाणित भएपछि मात्र थुन्ने’ दृष्टिकोण र व्यवहार गर्न सरकारलाई आग्रह गरेको छ ।


















