आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाली बजार’को प्रिमियर स्थगित

आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाली बजार’को प्रिमियर स्थगित गरिएको छ ।

उच्च अदालत पाटनले ‘लाली बजार’को प्रदर्शनमा रोक लगाएसँगै आजको प्रिमियर स्थगित गरिएको कार्यकारी निर्माता प्रदीप भट्टराईले जानकारी दिएका छन् ।

सार्वजनिक प्रदर्शन नगराउन अदालतले दिएको आदेशलाई सम्मान गर्दै मंगलबारका लागि निर्धारण गरिएको प्रिमियर नहुने उनले सामाजिक सञ्जालमार्फत् जानकार दिएका हुन् ।

षट्कोण आर्ट्सले निर्माण गर्ने फिल्महरू केवल मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक दायित्वसँग जोडिएको हुन्छन् । सोही क्रममा हामीले निर्माण गरेको फिल्म ‘लाली बजार ‘वर्षौदेखि शोषण र पीडामा परेकी आमाले आफ्नी सन्तानको लागि गर्ने सङ्घर्षको कथामा रहेर निर्माण गरिएको थियो ।

फिल्म हेरिसकेका बादी अभियन्ताले फिल्ममा देखाइएको विषयवस्तुले कुनै पनि समुदायको भावनालाई ठेस नपुर्याउने धारणा सार्वजनिक रुपमै पत्रकार सम्मेलनमै राखेता पनि सम्मानित अदालतबाट सार्वजनिक प्रदर्शन नगराउन दिएको आदेशलाई सम्मान गर्दै आज आयोजना गरिएको फिल्मको प्रिमियर नहुने जानकारी गराउन चाहन्छौं,’ उनले लेखेका छन्, ‘हामीसँग साथ दिनुहुने सम्पूर्ण अतिथि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं ।’

न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मंगलबार चलचित्र प्रदर्शन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।