विजय (थलापति) को पार्टी तमिलगा भेत्री कझगम (टीभीके) को ऐतिहासिक नतिजा

तमिलनाडु विधानसभा निर्वाचन २०२६ मा अभिनेताबाट राजनीतिज्ञ बनेका जोसेफ विजय (थलापति) को पार्टी तमिलगा भेत्री कझगम (टीभीके) ले ऐतिहासिक नतिजा निकालेको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार विजयको पार्टी ६४ सिटमा विजयी भइसकेको छ भने ४२ सिटमा अग्रता कायम गर्दै १०६ सिटसहित सबैभन्दा ठुलो दल बन्ने निश्चित भएको छ।

यस निर्वाचनमा विजयको उदयले तमिलनाडुका स्थापित शक्तिहरू द्रविड मुन्नेत्र कझगम (डीएमके) र अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कझगम (एआईडीएमके) लाई पछि पारिदिएको छ।

२३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक पर्ने भए पनि टीभीके एकल ठुलो दलको रूपमा उदाएको हो।

टीभीके प्रमुख विजय आफैँले प्रतिस्पर्धा गरेका दुवै क्षेत्र पेराम्बुर र त्रिचीइस्टमा भारी मतान्तरले जित सुनिश्चित गरेका छन्।

निर्वाचनमा सानदार प्रदर्शन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विजयको पार्टीलाई बधाई दिएका छन्। प्रधानमन्त्री मोदीले टीभीकेको प्रभावशाली प्रदर्शनको प्रशंसा गर्दै एनडीएलाई समर्थन गर्ने तमिलनाडुका जनताप्रति आभार व्यक्त गरेका छन्।

त्यस्तै, भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि विजयलाई फोन गरेर बधाई दिएका छन्। गान्धीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो जनादेशले युवाहरूको बढ्दो आवाजलाई प्रतिबिम्बित गर्दछ, जसलाई बेवास्ता गर्न सकिँदैन।’

अभिनेता विजयले २ फेब्रुअरी २०२४ मा टीभीके स्थापना गरेका थिए भने ८ सेप्टेम्बर २०२४ मा निर्वाचन आयोगमा दर्ता भएको थियो।

उनले आफ्नो पार्टीलाई भ्रष्ट र दुष्ट शक्तिविरुद्ध लड्ने एक मात्र शक्तिको रूपमा उभ्याउँदै आएका छन्। उनले यस पटक कुनै पनि दलसँग गठबन्धन नगरी २३४ वटै सिटमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय लिएका थिए।

तमिलनाडुमा २३ अप्रिल २०२६ मा एकै चरणमा मतदान भएको थियो। जसमा ८५.१० प्रतिशत मत खसेको थियो। टीभीकेका महासचिव आधभ अर्जुनका अनुसार चुनावअघि विजयलाई मुख्यमन्त्री पद र ५० प्रतिशत सिटको प्रस्ताव आए पनि उनले एकल यात्रा नै रोजेका थिए।