ढोरपाटन सिकार आरक्षमा १३ नाउर र १० झारल गरी २३ वन्यजन्तुको सिकार

ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्षको दोस्रो सिजनमा १३ नाउर र १० झारल गरी २३ वन्यजन्तुको सिकार गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस सिजनका लागि १४ नाउर,  १० झारल र १३ बँदेलको सिकारका लागि अनुमति दिएको थियो । तीमध्ये १३ नाउर, १० झारलको सिकार गरिएको हो । कोटा तोकिए पनि बँदेल भने सिकार भएन । यस वर्ष पहिलो सिजनमा ११ नाउर र ८ झारल गरी १९ वन्यजन्तुको सिकार गरिएको थियो ।

हरेक वर्ष पहिलो सिजन कात्तिक र दोस्रो सिजनको रूपमा वैशाखमा यहाँ सिकार खुलाइन्छ । चालु वर्ष बँदेलको सिकार गर्ने अनुमति पाए पनि सिकारीले नमारेको आरक्षका सूचना अधिकारी रेन्जर सागर सुवेदीले बताए । सुवेदीका अनुसार सिकारबाट मात्र आरक्षमा ४ करोड १७ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा झन्डै दोब्बरले बढी हो ।

अघिल्लो वर्ष सिकारबाट २ करोड ७६ लाख ६० हजार ४ सय राजस्व संकलन भएको थियो । ग्लोबल सफारी प्रालिमार्फत अमेरिकी सिकारीले नाउर र झारलको सिकार गरेका थिए । त्यसबाहेक हिमालयन सफारी, हिमालयन वाइल्डलाइफ आउन फिटर, ग्लोबल सफारिज, ट्राभल एक्पिडिसनमार्फत अमेरिकी, रसियन, फ्रेन्च र डेनिस सिकारी आउने गरेका छन् । प्रतिस्पर्धाका आधारमा अनुमति दिने गरिएको छ ।