बाँझो जग्गामा खेती गर्न पालुङटार नगरपालिकाले ‘भूमि बैंक’ कार्यक्रम सुरु गरेको छ । ‘भूमि बैंक कार्यक्रम कार्यविधि’ बनाएर कृषियोग्य जमिनको संरक्षण, बाँझो जमिनको सदुपयोग तथा व्यावसायिक कृषि प्रवद्र्धन गर्न लागिएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले बताए ।
यहाँबाट विकसित सहर चितवन, काठमाडौं, पोखरा बसाइँ सरेर जाने, वैदेशिक रोजगारीका लागि विदेश जाने परिपाटी देखिन्छ,’ उनले भने, ‘यसो हुँदा गाउँमा मान्छे घट्दै जाने, जमिन बाँझो बस्ने, उत्पादनमा भन्दा पनि रेमिट्यान्समा भर गर्ने र जग्गा बाँझो छाड्ने प्रवृत्ति छ भने केही किसान जग्गा–जमिन नहुँदा त्यसै बस्नुपर्ने अवस्था छ, खेती गर्न इच्छुक किसानलाई जमिन उपलब्ध गराएर उत्पादनसँग जोड्ने पुलको काम नगरपालिकाले गर्नका लागि यो कार्यक्रम संचालन गरेका हौं ।’
नगर क्षेत्रभित्र रहेको खेतीयोग्य तर विभिन्न कारणले प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई पुनः उत्पादन प्रणालीमा जोड्दै कृषि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरण गर्ने उदेश्यले कार्यक्रम संचालन गर्न लागिएको पनि बीसीले बताए ।
कार्यविधिको दफा ५ उपदफा (१) को ‘घ’ तथा अनुसूची–१ बमोजिम भूमि बैंकमा जग्गा दर्ताका लागि नगरपालिकाले सार्वजनिक सूचना पनि जारी गरेको छ । नगर क्षेत्रका जग्गाधनीलाई आफ्नो प्रयोगविहीन खेतीयोग्य जमिन भूमि बैंकमा दर्ता गरी अभियानमा सहभागी हुन पनि आग्रह गरिएको उनले बताए ।














