केपि कुमार जलन, बागलुङ
नेपाली लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा केही यस्ता स्रष्टा छन्, जो आफैं चर्चाको केन्द्रमा आउन खोज्दैनन्, तर उनका सिर्जनाले हजारौं श्रोताको मन जितिरहेका हुन्छन्। यस्तै प्रतिभाशाली सर्जकमध्ये एक हुन् शिव अखेली।
बागलुङ नगरपालिका–१२, अमलाचौरमा जन्मिएका अखेली अहिले रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्। भौगोलिक रूपमा मातृभूमिबाट टाढा भए पनि उनको मन भने नेपाली माटो, गाउँघर, संस्कृति र लोकसंगीतमै रमाइरहेको छ। यही माटोप्रतिको प्रेम र नेपाली गीत–संगीतप्रतिको लगावले उनलाई निरन्तर सिर्जनामा सक्रिय बनाइरहेको छ।
शिव अखेली त्यस्ता स्रष्टा हुन्, जो सधैं पर्दापछाडि बसेर कलाकारलाई सफल बनाउने अभियानमा लागिरहेका छन्। उनका शब्द, भाव र सिर्जनाले धेरै कलाकारलाई चर्चाको शिखरमा पुर्याएको छ। तर उनी आफैं भने प्रचारभन्दा सिर्जनालाई ठूलो ठान्छन्।
उनले सिर्जना गरेका “भिर्नी झोलामा”, “नैना रेशम”, “लाइदिमकी मोहनी”, “ढुङ्गेधारा” “कलाकारले देखे” र अहिले निक्कै भाईरल वनेकाे घडिकाे सुई उल्टाे घुमेर लगायतका गीतले दर्शक–श्रोतामाझ राम्रो लोकप्रियता हासिल गरेका छन्। यी गीतहरूमा ग्रामीण जीवन, प्रेम, पीडा, संस्कार, संस्कृति र समाजका विविध पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरिएको पाइन्छ।
विशेषगरी “भिर्नी झोलामा” र “नैना रेशम” जस्ता गीतले लोकदोहोरी पारखीहरूको मन छोएका छन्। गीतका शब्दमा मौलिकता, भावमा गहिराइ र प्रस्तुतीकरणमा नेपालीपन झल्किने भएकाले उनका सिर्जना फरक पहिचान बनाउन सफल भएका छन्।
विदेशी भूमिमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा योगदान दिनु सामान्य कुरा होइन। दिनभरको कामको थकानपछि पनि समय निकालेर सिर्जनामा लाग्नु उनका लागि केवल रहर मात्र नभई नेपालीपनप्रतिको समर्पण हो। यही समर्पणले उनलाई निरन्तर सृजनशील बनाइरहेको छ।
आज सामाजिक सञ्जाल र डिजिटल माध्यमको विस्तारसँगै धेरै नयाँ स्रष्टाहरू अगाडि आइरहेका छन्। तर मौलिकता र समाजको यथार्थलाई शब्दमा उतार्ने क्षमता सबैमा हुँदैन। शिव अखेलीका सिर्जनामा भने गाउँघरको सुगन्ध, नेपालीपनको मिठास र जीवन भोगाइका अनुभूतिहरू स्पष्ट देख्न सकिन्छ। त्यसैले उनका गीतहरू श्रोताले सहजै आत्मसात् गर्ने गरेका छन्।
सफलताको शिखरमा पुग्नेहरू मात्र महान् हुँदैनन्, त्यो सफलताको आधार तयार गर्ने स्रष्टाहरू पनि उत्तिकै सम्मानका पात्र हुन्छन्। शिव अखेली त्यही श्रेणीका सर्जक हुन्, जसले आफूभन्दा सिर्जनालाई ठूलो मानेर नेपाली लोकसंगीतको क्षेत्रमा निरन्तर योगदान दिइरहेका छन्।
भोलिका दिनमा उनका थप उत्कृष्ट सिर्जनाहरू नेपाली गीत–संगीतका पारखीमाझ आउने अपेक्षा गर्न सकिन्छ। बागलुङको अमलाचौरबाट सुरु भएको उनको सिर्जनात्मक यात्रा अहिले विश्वका विभिन्न कुनासम्म पुगेको छ। विदेशमा रहेर पनि नेपाली लोकसंगीतलाई माया गर्ने, नेपाली संस्कृति जोगाउने र शब्दमार्फत समाजका कथा बोल्ने शिव अखेली वास्तवमै नेपाली
लोकसंगीतका एक समर्पित, संघर्षशील र सृजनामा खारिएका सर्जक हुन्।

















