आँखिर लडाइँ त लडाइँ नै हो

आँखिर लडाइँ त लडाइँ नै हो

तिमी संसद र मन्त्री बन्न लागि
म मानव बन्नको लागि
व्राह्मणवादी संरचना भत्काउन
मनुस्मृति व्यवस्था भत्काउन
परम्परागत प्रवृत्ति भत्काउन
सामाजिक पुरातन चिन्तन भत्काउन

आखिर लडाइँ त लडाइँ नै हो

तिमी राज्यको मुलधारमा पुग्न
म यो समाजको छेउधारमा बसेर
आत्मसम्मानको अनुभूति गर्न
सामाजिक समानता स्थापित गर्न
मानव विरोधी व्यवस्था धोस्त गर्न
हजारौं वर्ष देखिको उत्पिडन हटाउन
बलिदानको निम्ति गर्धन थाप्ने हरूलाई
समाज बदल्न ज्यान फाल्नेहरुलाई

उनकै सपना पछ्याए झै गरि

तिमी झुटो सपना बाढ्दै
कति पटक चुनाव लड्यौ जित्यौ
सांसद भयौ
मन्त्री बन्यौ
घर बनायौ
आफ्ना चाॅहाना पुरा गर्दा गर्दै
तिम्रा आॅखाले समाजको कुसंस्कार देखेन
उत्पिडित जनताको अवस्था देखेन
सामाजिक अन्याय, अत्याचार देखेन

समाज रुपान्तरण गर्छु भनेर

तिमी भोट माग्न जनताको घरदैलो गर्दैछौ
म सडक र न्यायलय चाहार्दै छु
जातिय विभेद विरुद्ध लडिरहेको छु
सामाजिक न्याय र आत्मसम्मानको लागि
कहिले सडकमा, कहिले अदालतमा
कहिले मुद्दाको मिसिल बोक्दै, सधै न्यायिक प्रक्रियामा
कहिले खाएर कहिले, भोकै अन्यायको विरुद्धमा

विभेद र छुवाछुत गर्ने विरुद्ध

तिमी कहिल्यै बोल्दै बोल्दैनौ
म हिजो देखि आजसम्म सडक, अदालतसम्म बोल्दैछु
त्यसैले तिमी जस्तै झुठा सपना बड्ने विरुद्ध
अझै धेरै बोल्न मन छ
जसले आफ्नै अधिकारको बारे बोल्न सक्दैनन
तिनकै न्यायको खोजिमा
अधिकारको खोजिमा
समानताको खोजिमा
तिमी जति क्रान्तिकारी भएपनि
जतिसुकै परिवर्तनका कुरा गरेपनि
तिम्रो झूठो भाषणले जनताको अवस्था नबद्लिएपछि
अधिकारको नाममा समान अधिकार
तिमीले स्थापित गर्ने भ्रम छरेपछि

अब यस्तै यस्तै भ्रमबाट मुक्त हुन

आखिर लडाइँ त लडाइँ नै हो
तिम्रो लडाइँ चुनावको लागि
मेरो लडाइँ मानव अस्तित्वको लागि
कुसंस्कारका रोगीलाई निको गराउँन
मानव चेतना गुमाएकालाई सचेत गराउॅन
मानविय अस्तित्वको पहिचान गराउॅन
सामाजिक न्यायको महसुस गराउन

आखिर लडाइँ त लडाइँ नै हो

तिमी सत्तामा पुग्न
म विभेद रहित समाज निर्माण गर्न
फरक यति नै त हो हाम्रो लडाइँको
तिमी सत्ताको लागि म आत्मसम्मानको लागि
आज भ्रष्ट देखिदै छ व्यवहारमा तिम्रो लडाइँको
समाज बदल्ने तिम्रो बोलि आजभोली फेरिदै गएपछि
त्यसैले अस्तित्व फरक छ हाम्रो लडाइँको
Deepa ✍️