गोवामा बुधबार भएको पहिलो पहिलो सेमिफाइनलमा अन्तिम समयमा समालिन नसक्दा नेपाल बंगलादेशसॅंग २-१ ले पराजित हुन पुग्यो।
खेलमा नेपालले अग्रता लिॅंदै दबाब बनाएको थियो। तर, उल्टै दुई गोल बेहोर्दै आठौं संस्करणमा नेपालको यात्रा सेमिफाइनलमा सकियो।
यो हारसॅंगै यसपल्ट पनि साफको उपाधि जित्ने नेपालको सपना अधुरै रह्यो। गोवामा नेपालको यात्रा सेमिफाइनलमा नै सकियो र सातौं पटक उपाधि भिडन्त गर्ने लक्ष्य पनि पूरा हुन सकेन।
नेपालका लागि डिफेन्डर गीता रानाले गोल गरिन्। बंगलादेशकी रितु पोर्ना चक्मा गोल गरिन् भने एक गोल आत्मघाती भयो। पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल निस्कियो।
खेलको २३औं मिनेटमा डिफेन्डर गीता रानाको गोलबाट नेपाली टोलीले अग्रता लियो।
विंगर दीपा शाहीको कर्नर प्रहार बंगलादेशकी गोलकिपर मिली अख्तेरको फितलो क्लियरलाई नियन्त्रणमा लिॅंदै गीताले करिब आठ यार्डबाट उत्कृष्ट गोल गरिन्।
यसअघि पहिलो खेलमा पनि दीपाकै कर्नरमा गीताको गोल सम्भव भएको थियो । यसपल्ट पनि दीपाको प्रहारमा गीताले राइट फुटमार्फत बललाई दोस्रो बारको टप कर्नर हुँदै जाली चुमाइन्। ३५औं मिनेटमा नेपालको अग्रता बनाउने लक्ष्यमा बंगलादेशकी गोलकिपर मिले अख्तरले उत्कृष्ट बचाउ गरिन्।
प्रीति राईले करिब २२ यार्डबाट गरेको प्रहार बंगलादेशकी गोलकिपर मिलेले पन्च गर्दै बाहिर पठाइन्। ४२ औं मिनेटमा दीपा शाहीको हेडर दोस्रो बाहिर हुंदै बाहिरियो। पहिलो हाफको थप समयमा बंगलादेशले गोल गर्दै खेलमा फर्कियो।
रितु पोर्ना चक्माको कर्नर प्रहार नेपालकी गोलकिपर अन्जिला तुम्बापो सुब्बा सजक नहुँदा गोलमा परिणत भयो। अन्जिलाले पन्च गर्न नसक्दा कठिन दूरीबाट आएको बल जाली चुम्न पुग्यो। पहिलो हाफमा नेपालले तुलनात्मक रूपमा धेरै अवसर सिर्जना गर्यो।
तर, थप समयमा समालिन नसक्दा पहिलो हाफ १-१ को बराबरीमा सकियो। ५१औं मिनेटमा रश्मिकुमारी घिसिङले लामो दूरीबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो।
दुई मिनेटमा बंगलादेशको काउन्टर अट्याक सफल हुन सकेन। ६९औं मिनेटमा सरू लिम्बूको प्रहार असफल भयो। पेनाल्टी बक्सको लेफ्ट साइडबाट सरूले गरेको सट बारमाथिबाट बाहिरियो।
७८औं मिनेटमा बंगलादेशकी स्ट्राइकरको सशक्त प्रहार नेपालकी गोलकिपर अन्जिलालो पन्च गर्दै उत्कृष्ट बचाउ गरिन्। ८९औं मिनेटमा नेपालले अवसर बुने पनि सफल भएन।
बंगलादेशका डिफेन्डरले क्लियरेन्स गर्दै खतरा टारे। इन्जुरी समयमा आत्मघाती गोलबाट बंगलादेशले अग्रता लियो। सागोरिकाको प्रहार प्रीतिको खुट्टामा ठोकिएर जाली चुम्न पुग्यो।
यससॅंगै लगातार तेस्रो संस्करणमा नेपाल बंगलादेशसॅंग नै स्तब्ध बन्यो। आज राती ८ बजे भारत र भुटानबीच दोस्रो सेमिफाइनल हुँदै छ। भारत पाँच पल्ट र बंगलादेश दुई पटकको च्याम्पियन हुन्।


















