केपि कुमार जलन
नेपाली लोक संगीत क्षेत्रमा पछिल्लो समय अक्टोप्याड वादक पदम क्षेत्री को नाम निकै चर्चामा रहेको छ। स्टेज कार्यक्रमदेखि डिजिटल प्लेटफर्मसम्म उनले प्रस्तुत गर्ने आकर्षक बीट र ऊर्जावान प्रस्तुतीले लोक संगीतप्रेमीहरूको मन जित्न सफल भएको छ।
परम्परागत लोक संगीतलाई आधुनिक प्रविधिसँग जोड्दै पदम क्षेत्रीले अक्टोप्याडमार्फत नयाँ प्रयोग गरिरहेका छन्। लोक भाकाको मौलिकता कायम राख्दै आधुनिक इलेक्ट्रोनिक तालको समिश्रण गर्ने उनको शैलीले नेपाली लोक संगीतलाई थप जीवन्त र आकर्षक बनाएको छ। यही कारण आज उनी लोक दोहोरी तथा सांगीतिक मञ्चहरूमा अत्यन्त व्यस्त र खोजी गरिएका कलाकारमध्ये एक बनेका छन्।
पदम क्षेत्रीले हालसम्म हजारौं नयाँ तथा स्थापित गायक–गायिकासँग सहकार्य गरिसकेका छन्। उनका बीट र तालले गीतहरूलाई थप प्रभावशाली बनाउने भएकाले धेरै कलाकारहरूको पहिलो रोजाइ बन्न सफल भएका छन्। विशेषगरी लाइभ कार्यक्रममा उनको प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बन्ने गरेको छ।
युवापुस्तामाझ लोक संगीतप्रतिको आकर्षण बढाउन पदम क्षेत्रीले खेलेको भूमिका पनि उल्लेखनीय छ। “लाइभ बीट र लोक गीत” को उत्कृष्ट संयोजनमार्फत उनले परम्परा र आधुनिकतालाई एउटै मञ्चमा उभ्याउने काम गरिरहेका छन्। यही कारण सामाजिक सञ्जालमा पनि उनका प्रस्तुति र भिडियोहरू व्यापक रूपमा रुचाइने गरेका छन्।संगीतप्रतिको अथक मेहनत, सिर्जनशीलता र नवीन सोचका कारण पदम क्षेत्री नेपाली लोक संगीत क्षेत्रमा सम्भावनाशील मात्र होइन, स्थापित प्रतिभाका रूपमा पनि चिनिन थालेका छन्। आगामी दिनमा उनीबाट अझ उत्कृष्ट प्रस्तुति र नयाँ सांगीतिक प्रयोगहरू आउने अपेक्षा गरिएको छ।

















