केपि कुमार जलन
नेपाली लोकसंगीत क्षेत्रमा नयाँ कोसेलीका रूपमा ‘मिठो थकाली भान्साको खाना’ गीत सार्वजनिक भएको छ। गायक हेमन्त खड्का र सरिता सुनारको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ।
गीतका शब्द तथा लय हेमन्त खड्काले सिर्जना गरेका हुन् भने संगीत संयोजन कृष्ण केसीले गरेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ पक्षलाई समेत उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ, जसले गीतलाई थप श्रवणयोग्य बनाएको छ।
गीतको भिडियोमा चर्चित कलाकार लोमश शर्मा र रचना न्यौपानेको आकर्षक अभिनय देख्न सकिन्छ।
थकाली खानाको स्वाद, नेपाली मौलिक संस्कृति र मनोरञ्जनलाई समेटेर निर्माण गरिएको भिडियो दर्शकमाझ रुचाइएको छ। निर्देशक प्रविण थापाको निर्देशन, उमेश शाहको छायांकन तथा नविन घर्ती मगरको सम्पादनले भिडियोलाई थप आकर्षक बनाएको छ।
सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा सकारात्मक चर्चा बटुल्न सफल भएको छ। नेपाली लोकसंस्कृति र खानाका परिकारलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतले संगीतप्रेमी दर्शकको मन जित्ने विश्वास गरिएको छ।
हेमन्त खड्का अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मिठो थकाली भान्साको खाना’ गीतले नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।


















