बक्यौता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न सुरु

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट जमिन, भवन, पानी, बिजुलीलगायतको बक्यौता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न सुरु गरेको छ ।

लिमिटेडले दुई दिन (बुधबार र बिहीबार) मा १० वटा औद्योगिक क्षेत्रभित्र रहेका १ सय ६७ उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो । त्यसमध्ये बक्यौता तिरेका ८७ उद्योगमा बिहीबार पुनः लाइन जडान गरिएको जनाइएको छ ।

लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई सात दिनभित्र बक्यौता रकम बुझाउन २५ जेठमै सूचना जारी गरेको थियो । दिएको म्याद सकिएपछि बुधबारदेखि लाइन काट्न सुरु गरिएको हो ।

२४ चैत २०८० मा प्रमाणीकरण भएको उच्च अदालतको फैसलामा उद्योगीहरूले २०७५ सालदेखिकै बढेको भाडा उठाउनुपर्ने भनिएको थियो । तर त्यसविरुद्ध औद्योगिक क्षेत्रका उद्योग सर्वोच्च अदालत पुगेका थिए । जसमा १२ चैत २०८१ मा सर्वोच्चले २०७५ साउनदेखि लागू हुने गरी पत्राचार गर्न खोज्नु कानुनसम्मत र न्यायोचित नहुने भएकाले उच्च अदालतको आदेश केही हदसम्म उल्टी भई परिमार्जित भाडादर २२ असार २०७९ देखि मात्रै लागू गर्न परमादेश गरेको थियो ।

तर २५ पुस २०८२ मा लिमिटेडले सर्वोच्च अदालतद्वारा चैतमा केही हदसम्म उल्टी फैसला भई परमादेश जारी भएको र उक्त फैसलाबाट ४ आर्थिक वर्षको जमिन बहाल फिर्ता समायोजन गर्नुपर्ने हुँदा लिमिटेडको वार्षिक आम्दानीमा नोक्सानी हुने हुँदा सर्वोच्चको फैसलाउपर पुनरावलोकनको निवेदन दर्ता गर्ने निर्णय लिमिटेड सञ्चालक समितिले गरेको थियो ।

सर्वोच्चको फैसलाउपर पुनरावलोकनका लागि लिमिटेड र लिमिटेडको सञ्चालक समितिको निर्णय चित्त नबुझेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघलगायत पनि पुनरावलोकनका लागि गएका थिए । तर बिहीबार सर्वोच्च अदालतका न्यायाधीशत्रय विनोद शर्मा, सुनीलकुमार पोखरेल र नित्यानन्द पाण्डेयको इजलासले पुनरावलोकनका लागि अनुमति दिएन । अब यसअघिको सर्वोच्चको फैसला नै लागू हुने र व्यवसायीले २०७९ देखिकै परिमार्जित भाडादर तिर्नुपर्ने सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जनाए ।

आफूहरूले २०७९ देखिकै भाडा वृद्धि लागू गर्न माग गर्दै आएको नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष एजाज आलम बताउँछन् । सर्वोच्चको फैसलाअनुसार नै २०७५ देखि २०७९ सम्मको बढेको भाडा रकम आफूहरूले नबुझाएको र नबुझाउने उनको दाबी छ । २०७९ यताको भाडा वृद्धिअनुसार नै बक्यौता तिर्न सबै उद्योगीलाई पत्राचार गरिसकेको उनको भनाइ छ । ‘दुवैको पुनरावलोकन खारेज भयो । सर्वोच्चअनुसार नै २०७९ देखिको भाडा वृद्धि तिर्छौं, त्यहीअनुसार भनिसक्यौं,’ उनले भने, ‘लिमिटेडले एकै पटक सात दिनको समय दियो, जुन कम छ । बुधबार सूचना नै नदिई लाइन काटियो । कम्तीमा लिखित जानकारी त दिनुपर्छ ।’

लिमिटेडले २०७५ यताकै बक्यौता रकम सूचनासहित सार्वजनिक गरेको छ । ‘हाम्रो बिलिङअनुसार २०७५ यताकै बक्यौता रकम हो,’ वलीले भने, ‘यद्यपि सर्वोच्चको फैसलाका लागि हामी पुनरावलोकनमा गएका थियौं । आज निस्सा प्राप्त नभएको भन्ने देखिएको छ ।’ सर्वोच्चको फैसलाअनुसार पनि उद्योगीहरूले २०७९ यताको समेत बक्यौता रकम नतिरेको उनले बताए ।