‘विक्रम सुनारकाे देश छोडेर’ सार्वजनिक : वैदेशिक पीडा र बिछोडको कथाले दर्शकलाई भावुक बनायो

केपि कुमार जलन/अषाढ ६

बागलुङ । वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिनुपर्दाको पीडा, संघर्ष र बिछोडको मार्मिक कथा समेटिएको नयाँ गीत ‘देश छोडेर’ सार्वजनिक भएको छ। मनिषा सदाशंकरको प्रस्तुतिमा तयार भएको गीतले देशभित्र अवसरको अभावका कारण परदेशिन बाध्य नेपाली युवाको यथार्थलाई भावुक ढंगले चित्रण गरेको छ।

गीतमा सीमा अधिकारी र विक्रम सुनारको सुमधुर स्वर रहेको छ। गीतका शब्द र संगीतले परदेशिएका युवाको मनको व्यथा, परिवारसँगको दूरी र सम्झनाका क्षणलाई जीवन्त बनाएका छन्। सार्वजनिक भएसँगै गीतले दर्शक–श्रोताको मन छोएको प्रतिक्रिया प्राप्त गरिरहेको छ।

म्युजिक भिडियोमा वैदेशिक रोजगारीका कारण छुट्टिएका परिवारको कथा प्रस्तुत गरिएको छ। विशेषगरी आमाबाबु, श्रीमान्–श्रीमती तथा प्रेम सम्बन्धमा आउने बिछोड र त्यसले निम्त्याउने भावनात्मक पीडालाई भिडियोमा संवेदनशील ढंगले उतारिएको छ। कलाकारहरूको जीवन्त अभिनयले गीतको भावलाई अझ प्रभावकारी बनाएको छ।

गोविन्द बिबसको निर्देशनमा तयार भएको भिडियोले नेपाली समाजको एउटा यथार्थ पक्षलाई उजागर गरेको छ। देशमै सम्भावना खोज्न नसकेर परदेशिनुपर्ने बाध्यता र त्यसले परिवारमा पार्ने असरलाई गीतले गहिरो रूपमा प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया छ।

सार्वजनिक भएको छोटो समयमै ‘देश छोडेर’ले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा चर्चा बटुल्न थालेको छ। वैदेशिक रोजगारीको पीडा भोगेका वा आफ्ना प्रियजनलाई परदेश पठाएका धेरै नेपालीका लागि यो गीत भावनासँग जोडिने कोसेली बनेको छ।