हरेक वर्ष असार ७ (जुन २१) का दिन विश्वभर विश्व संगीत दिवस (World Music Day) विभिन्न कार्यक्रमका साथ मनाइन्छ। संगीतप्रतिको सम्मान, कलाकारको योगदानको कदर तथा संगीतमार्फत मानवता, प्रेम र सद्भावको सन्देश फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो मानव भावनाको अभिव्यक्ति, संस्कृतिको पहिचान र समाजलाई एकताबद्ध बनाउने शक्तिशाली माध्यम पनि हो। भाषा, जात, धर्म र भौगोलिक सीमाभन्दा माथि उठेर संगीतले मानिसलाई जोड्ने काम गर्दछ। खुशी, पीडा, प्रेम, संघर्ष र आशाका भावनालाई संगीतले सहज रूपमा व्यक्त गर्न सक्छ।
नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक देशमा संगीतले लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। लोकदोहोरी, देउडा, तामाङ सेलो, मारुनी, सोरठी, भजन तथा आधुनिक गीत–संगीतले नेपाली समाजको मौलिक पहिचानलाई जीवन्त राख्दै आएको छ। नेपाली संगीत क्षेत्रका हजारौं कलाकार, सर्जक, संगीतकार तथा वाद्यवादकहरूले आफ्नो प्रतिभामार्फत देशको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएका छन्।
विश्व संगीत दिवसको अवसरमा विभिन्न देशमा निःशुल्क सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा कलाकार सम्मानका कार्यक्रम आयोजना गरिन्छन्। यस दिन संगीतप्रेमीहरू आफ्ना सिर्जना प्रस्तुत गर्दै संगीतको शक्ति र महत्वलाई उजागर गर्ने गर्दछन्।
आजको डिजिटल युगमा संगीत विश्वव्यापी रूपमा फैलिएको छ। सामाजिक सञ्जाल र विभिन्न डिजिटल प्लेटफर्ममार्फत कलाकारहरूले आफ्नो प्रतिभा संसारभर पुर्याउन सफल भएका छन्। यसले नयाँ पुस्तालाई संगीततर्फ आकर्षित गर्नुका साथै नयाँ प्रतिभाहरूलाई अवसर पनि प्रदान गरेको छ।
विश्व संगीत दिवसले हामीलाई संगीतको महत्व सम्झाउँदै कला, संस्कृति र मानवताको संरक्षणमा थप योगदान दिन प्रेरित गर्दछ। संगीत जीवनको अभिन्न अङ्ग हो, जसले मनलाई शान्ति, आत्मालाई आनन्द र समाजलाई सकारात्मक ऊर्जा प्रदान गर्दछ।
विश्व संगीत दिवस २०२६ को अवसरमा सम्पूर्ण कलाकार, सर्जक, संगीतकर्मी तथा संगीतप्रेमीहरूमा हार्दिक शुभकामना। संगीतको मधुर स्वर सधैं मानवताको पक्षमा गुञ्जिरहोस
केपी कुमार जलन
पुर्व सदस्य
राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङ


















