क्यानडा डे विशेष साँगीतिक साँझमा प्रस्तुति दिन गायिका बिन्दा परियार क्यानडा पुगिन

केपि कुमार जलन

नेपाली लोक तथा दोहोरी संगीतकी चर्चित गायिका बिन्दा परियार क्यानडामा आयोजना हुने “Canadian Day Special Celebration 2026” कार्यक्रममा प्रस्तुति दिन क्यानडा पुगेकी छन्।

जुलाई १ तारिखमा ब्राम्पटनस्थित भुखारा ग्रिल बैंक्वेट हल मा हुने उक्त विशेष साँगीतिक साँझमा बिन्दा परियारसँगै गायक चेतन सापकोटा तथा अन्य कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।

क्यानडा पुगेपछि गायिका परियारले आफूलाई सफल यात्राको शुभकामना दिने सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्दै एयरपोर्टमा न्यानो स्वागत तथा आतिथ्यता प्रदान गर्ने आयोजक टोलीप्रति विशेष कृतज्ञता व्यक्त गरेकी छन्। उनले क्यानडावासी नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई नेपाली संगीतको मनोरञ्जन लिन आग्रह समेत गरेकी छन्।

लाइभ म्युजिक, डीजे पार्टी, नृत्य तथा मनोरञ्जनसहित आयोजना हुने उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई क्यानडामा रहेका नेपालीहरूका लागि विशेष उत्सवका रूपमा हेरिएको छ ।