धुन माटोको पहिलो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, अग्रज स्रष्टादेखि नयाँ प्रतिभासम्मको सम्मान र प्रस्तुति

केपि कुमार जलन

नेपाली लोकगीत तथा संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना भएको धुन माटोले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा पहिलो वार्षिकोत्सव तथा ‘धुन माटो २०८३’ स्रष्टा सम्मान कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाली लोकगीत संगीतका हस्ती तथा वरिष्ठ स्रष्टाहरू खड्ग गर्बुजा र लोक स्वर सम्राट राजु परियारलाई सम्मान गरिएको थियो। नेपाली मौलिक लोकसंगीतको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै उनीहरूलाई स्रष्टा सम्मान प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता सफल व्यवसायी, कलाकार तथा संगीतप्रेमी एवं धुन माटोका सल्लाहकार नवीन बुढाथोकीले गर्नुभएको थियो। कार्यक्रममा भेन्चर हायर पर्चेज लिमिटेड (IME Group) का प्रमुख कार्यकारी अधिकृत बाबुराम शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यस्तै समाजसेवी, सफल व्यवसायी, पत्रकार तथा गीत–संगीतप्रेमी कृष्ण आचार्य, सहरी विकास केन्द्र पोखराका प्रमुख तथा हाल यूकेमा रहनुभएका संगीतप्रेमी एवं कलाकार कुस्मराज सुवेदीलगायतको विशेष उपस्थिति रहेको थियो। चर्चित गायिका सुमन थापा मगर, सकारात्मक अभियानकी सचिव गोमा कुँवर ओली, गायिका तथा समाजसेवी कृष्ण मल्ललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

संस्थाका संरक्षक लक्ष्मी तामाङ आमा र तुलसा भण्डारी आमाले केक काटेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो।
कार्यक्रममा वरिष्ठ गायक तथा लोक स्वर सम्राट राजु परियार र चर्चित मौलिक गायिका कालिका रोका मगरको बेजोड सांगीतिक प्रस्तुतिले दर्शक–श्रोतामाझ विशेष उत्साह थपेको थियो। साथै नयाँ प्रतिभाहरूले समेत आफ्नो प्रस्तुतिमार्फत कला तथा प्रतिभा प्रस्तुत गरेका थिए।

विशिष्ट अतिथिहरूको मन्तव्य, स्रष्टा सम्मान, नयाँ प्रतिभाको प्रस्तुति तथा सांगीतिक कार्यक्रमले वार्षिकोत्सवलाई थप आकर्षक बनाएको थियो। कार्यक्रमको सञ्चालन कमला घिमिरे र दुर्गा विरहीले गर्नुभएको थियो।

धुन माटोको पहिलो वार्षिकोत्सवलाई सफल बनाउन संस्थासँग आबद्ध सम्पूर्ण परिवार सक्रिय रूपमा खटिएको थियो। एक वर्षको छोटो अवधिमै नेपाली लोकसंगीत, स्रष्टा सम्मान र नयाँ प्रतिभाको प्रोत्साहनमा धुन माटोले देखाएको सक्रियतालाई कार्यक्रममा सहभागीहरूले सकारात्मक रूपमा लिएका छन्।

लोकसंगीतका अग्रज स्रष्टालाई सम्मान गर्दै नयाँ पुस्ताका प्रतिभालाई एउटै मञ्चमा जोड्ने धुन माटोको प्रयासले नेपाली मौलिक गीत–संगीतको संरक्षण र प्रवर्द्धनमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ।