लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औं राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन, असोज २२ देखि २४ गतेसम्म बर्दिबासमा हुने

केपि कुमार जलन

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरिएको छ। पूर्वनिर्धारित कार्यतालिका अनुसार २०८३ साल असोज १६, १७ र १८ गते सम्पन्न गर्ने तय भएको महाधिवेशन विशेष परिस्थितिका कारण उक्त मितिमा सम्पन्न गर्न सम्भव नभएपछि नयाँ मिति तय गरिएको हो।

प्रतिष्ठानको २०८३ साल भदौ २५ गते बसेको सचिवालय बैठकले पूर्वनिर्धारित मिति परिवर्तन गर्दै २०८३ साल असोज २२, २३ र २४ गते महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ।
प्रतिष्ठानका अनुसार ९ औं राष्ट्रिय महाधिवेशन महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आयोजना हुनेछ।

मिति परिवर्तनबाट सम्बन्धित सबै पक्षमा पर्न गएको असुविधाप्रति प्रतिष्ठानले क्षमायाचना गर्दै महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण सदस्य, कलाकार, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर सहयोग, साथ र सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गरेको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आगामी नेतृत्व चयन तथा संस्थागत गतिविधिका लागि महत्वपूर्ण मानिएको ९ औं राष्ट्रिय महाधिवेशन अब नयाँ कार्यतालिका अनुसार असोज २२ देखि २४ गतेसम्म बर्दिबासमा सम्पन्न हुने भएको छ।