रुद्रपुरको सपनादेखि चलचित्रको पर्दासम्म, ‘बसन्ती’मा गायक खेम सेञ्चुरीको नयाँ अवतार

 

केपि कुमार जलन/

रुद्रपुरको फाँटबाट सीमित अध्ययन बोकेर कलाकार बन्ने सपना देख्दै काठमाडौं छिरेका एक युवाले अब नेपाली चलचित्रको ठूलो पर्दामा अभिनेताका रूपमा आफ्नो नयाँ यात्रा सुरु गर्ने भएका छन्। गायक, गीतकार तथा सङ्गीतकारका रूपमा आफ्नो छुट्टै पहिचान बनाइसकेका उनी अब चलचित्र **‘बसन्ती’**मार्फत अभिनय यात्रामा औपचारिक प्रवेश गर्न लागेका हुन्।

कलाकार बन्ने सपना बोकेर काठमाडौं प्रवेश गर्दा आफू गायक बन्छु, गीतकार, सङ्गीतकार वा अभिनेता—के बन्छु भन्ने स्वयंलाई समेत थाहा नभएको उनी बताउँछन्। तर कलामार्फत आफ्नो पहिचान बनाउने सपना भने मनमा गहिरो रहेको उनको भनाइ छ।
त्यही सपनालाई पछ्याउँदै उनले सांगीतिक यात्रा सुरु गरे। गीत लेखे, अरूका लागि पनि सिर्जना गरे, सङ्गीत भरे, गाए र अन्य कलाकारलाई पनि आफ्नो सिर्जनामा आवाज दिए। व्यवसायिक रूपमा गीत–सङ्गीतमा संघर्ष गर्दै अघि बढ्ने क्रममा उनका सिर्जना, आवाज र कलाकारिताका विभिन्न पाटोलाई दर्शक–श्रोताले माया र स्वीकार गर्दै गए।

रियालिटी शोदेखि सानो पर्दासम्मको यात्रामा दर्शकको साथ र विश्वास पाएका उनी अब ठूलो पर्दाको नयाँ अध्याय सुरु गर्ने तयारीमा छन्।
वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझीको प्रस्तावपछि उनले ‘बसन्ती’मा अभिनय गर्ने निर्णय गरेका हुन्। रायमाझीप्रतिको आफ्नो श्रद्धा, सम्मान र विश्वासका कारण यो अवसर स्वीकार गरेको बताउँदै उनले आफूले देख्न नसकेको सम्भावना निर्देशक रायमाझीले देख्न सकेको विश्वासलाई आत्मसात् गर्दै ठूलो पर्दामा डेब्यु गर्न लागेको बताएका छन्।
यस फिल्मको अर्को विशेष पक्ष भनेको उनको जोडीका रूपमा तेरिया फौजा मगरको उपस्थिति हो। भारतीय रियालिटी शोबाट नेपालीको मन जितेकी तेरिया पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पनि आफ्नो पहिचान बनाउँदै आएकी छन्। अझ रोचक कुरा, तेरिया उनकै गाउँकी बहिनी हुन्।

एउटै माटोमा हुर्किएका दुई कलाकार एउटै चलचित्रमा नायक–नायिकाका रूपमा प्रस्तुत हुनु आफैंमा भावनात्मक र रोचक संयोग बनेको छ। यो सहकार्यले चलचित्रप्रति उनीहरूको उत्साहसँगै दर्शकमा पनि चासो बढाउने देखिन्छ।

गायकले चलचित्र खेल्नु हुँदैन वा सर्जकले अभिनय गर्नु हुँदैन भन्ने धारणाप्रति उनी सहमत छैनन्। उनका अनुसार कला कुनै एउटा सीमाभित्र बाँधिने विषय होइन। गीतको शब्द, सङ्गीत, गायन, नृत्य, अभिनयदेखि पर्दासम्मका सबै पक्ष सिर्जना र मनोरञ्जनका फरक–फरक अभिव्यक्ति हुन्।

उनको भनाइमा, ‘सानो पर्दा र ठूलो पर्दा पनि अन्ततः एउटै कलाको चौतारीका फरक–फरक आँगन हुन्।’
यसै विश्वासका साथ सांगीतिक क्षेत्रमा लामो संघर्षपछि अब उनी अभिनयको नयाँ यात्रामा अघि बढ्दैछन्। आफ्नो जीवनको महत्वपूर्ण मोडका रूपमा लिइएको चलचित्र ‘बसन्ती’को शुभमुहूर्त २०८३ असोज २ गते शुक्रबार बिहान ८ः३० बजे हुने जनाइएको छ।

रुद्रपुरको फाँटबाट बोकेको कलाकार बन्ने सपनाले अब ठूलो पर्दाको यात्रा तय गरेको छ। गीत–सङ्गीतमा बनाएको पहिचानपछि अभिनयमा उनको नयाँ अवतार कस्तो हुनेछ भन्ने कौतुहलताबीच उनी भन्छन्—
“अब बाँकी कुरा पर्दाले बोल्नेछ।”