नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा दैवी प्रकोप उद्धार कोषमा ४० लाखभन्दा बढी सहयोग

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४० लाख ५ हजार ५५५ सहयोग गरेको छ।

महासंघको आह्वानमा सुनचाँदी, रत्न तथा आभूषण व्यवसायमा आबद्ध व्यवसायीहरूबाट स्वेच्छिक रूपमा संकलित रकम महासंघका महासचिव निर बहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका पदाधिकारी, कार्यसमिति सदस्य, प्रदेश महासंघ तथा आबद्ध सदस्य संघका प्रतिनिधिहरूको उपस्थिति थियो।

महासंघले विपद्बाट प्रभावित व्यवसायी, कालिगढ तथा पीडित परिवारलाई आवश्यकताका आधारमा प्रत्यक्ष राहत उपलब्ध गराउने जनाएको छ। साथै, आगामी दिनमा पनि राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।