पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईकाे उडान सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईले उडान सुरु गरेको छ। सञ्चालनमा आएको करिब तीन वर्षपछि पोखरा विमानस्थलमा फ्लाइ दुबईले उडान सुरु गरेको हो।

फ्लाइ दुबईले पोखरामा बुधबार पहिलो उडान गरेको छ। यो एयरलाइन्सले दुबईबाट ११३ यात्रुसहित बोइङ ७३७ म्याक्स जहाज पोखरामा उडान गरेको हो। जहाजलाई भव्य स्वागत गरिएको छ। यो जहाज १६६ सिट क्षमताको हो। जसमा १२ वटा बिजनेस क्लास र १५६ वटा इकोनोमिक क्लासका सिट छन्।

जहाज केहीबेरमै दुबईका लागि उडेको छ। जहाज १५३ यात्रु लिएर दुबई फर्किएको पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

वैदेशिक रोजगारीका लागि दुबई जानेहरुका साथै अमेरिका, क्यानडा र युरोपेली मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीले अब पोखराबाट यात्रा गर्न सक्नेछन्।

दुबई आफैंमा एउटा प्रमुख ट्रान्जिट हो। फ्लाइ दुबईले १२० भन्दा बढी गन्तव्यमा आफ्नै जहाजबाट उडान गर्छ। अन्य गन्तव्यमा इमिरेट्ससँग सेयरिङ गरी उडान गर्दै आएको छ। त्यसैले अब पोखरामा नियमित उडानले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं,’ विमानस्थलका महाप्रबन्धक निरौलाले भने।

नेपाल आउने कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशत पर्यटक पोखरा भ्रमणमा जाने तथ्यांक रहेकाले पोखरामा सिधा उडान हुँदा पर्यटकको संख्या वृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।

‘नेपाल भ्रमण गर्ने कुल पर्यटकको करिब ६० प्रतिशत पर्यटक पोखरा आउने गरेको तथ्यांक छ। ती पर्यटक अब सिधै पोखरा आउन सक्ने बाटो खुलेको छ,’ निरौलाले भने, ‘फ्लाइ दुबईको व्यावसायिक सफलताले काठमाडौंमा उडान भरिरहेका अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पनि पोखराप्रति आकर्षित गर्ने अपेक्षा गरेका छौं।’

दुबई-पोखरा-दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई गत जेठ २५ गते अनुमति दिएको थियो।

फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकट मूल्य ५ हजारसम्म सस्तो रहेको बताए। फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मका टिकट बुकिङ खुलाएको छ।

फ्लाइ दुबईले दैनिक उडान सुरु गरेकामा पर्यटन व्यवसायीमा उत्साह छाएको छ। फ्लाइ दुबईको उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन्। क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पहिलो तीन महिनाका लागि फ्लाइ दुबईबाट आउने यात्रु/पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।