२० औं एसियाली खेलकुद प्रतियोगिताको महिला कबड्डीमा नेपाली टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का

जापानको आइची–नागोयामा जारी २० औं  एसियाली खेलकुद प्रतियोगिताको महिला कबड्डीमा नेपाली टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ ।

नेपाली महिला कबड्डी टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेसँगै कम्तीमा कांस्य पदक पक्का भएको हो ।

जारी एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुबै टोलीले कांस्य पदक पाउने प्रावधान छ ।

नेपाली महिला कबड्डी टोलीले यसअघि चीनमा आयोजित १९ औं एसियाली खेलकुदमा पनि कांस्य पदक जितेको थियो ।

एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा नेपालले कबड्डी खेलमा जितेको त्यो नै पहिलो र ऐतिहासिक पदक थियो ।

नेपाली महिला टोलीले बिहीबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ अंकले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

पहिलो हाफमा १९–१३ अंकको अग्रता लिएको नेपाली टोलीले दोस्रो हाफमा पनि श्रीलंकालाई १५–१२ अंकले पछि पारेको थियो ।

यसअघि, समूह ‘बी’को आफ्नो पहिलो खेलमा नेपाली टोलीले थाइल्यान्डमाथि ४६–४३ अंकको रोमाञ्चक जीत हासिल गरेको थियो ।

आफ्नो दोस्रो खेलमा भने नेपाली टोली बलियो प्रतिद्वन्द्वी चाइनिज ताइपेइसँग १८–३७ अंकले पराजित भएको थियो ।

समूह ‘बी’बाट तीनवटै खेल जितेको चाइनिज ताइपेइ विजेता र दुई खेलमा जीत हात पारेको नेपाल उप–विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

सेमिफाइनलमा अब नेपालले भारत वा इरानमध्ये एक टोलीसँग भिडन्त गर्नेछ । समूह ‘ए’को अन्तिम खेल बिहीबार नै भारत र आयोजक जापानबीच खेलिँदैछ ।