काठमाडौं । बाढीपहिरोका कारण प्रभावित काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू धमाधम सञ्चालनमा आउन थालेका छन् ।
मंगलबार बिहान ९ बजेसम्म बीपी, पृथ्वी, कान्ति, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा आएका छन् ।
यी सडकका केही संवेदनशील खण्डमा सडकको अवस्थाअनुसार एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने अधिकांश स्थानमा दुईतर्फी यातायात चलिरहेको प्रहरीले जनाएको छ ।
यद्यपि सिद्धिचरण लोकमार्ग, मध्यपहाडी लोकमार्गको भोजपुर खण्ड र टोखा–छहरे सडकमा राति आवतजावत पूर्ण रूपमा रोकिएको छ । अन्य प्रभावित सडकखण्डमा समेत पहिरो र क्षतिको अवस्था हेरेर यातायात व्यवस्थापन भइरहेको छ ।
बाढीपहिरोले कान्ति लोकपथ, पृथ्वी राजमार्गका धादिङ र तनहुँका विभिन्न खण्ड, रसुवा–नुवाकोटका मुख्य सडक, हेटौंडा–भीमफेदी–काठमाडौं सडक, नारायणगढ–मुग्लिन, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, चामे–बेँसीसहर, बेनी–जोमसोम, जोमसोम–कोरोला, कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोर र महाकाली राजमार्गलगायतका सडक प्रभावित भएका छन् ।
अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय तह, अन्य सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा उपकरणसहित पहिरो पन्छाउने काम भइरहेको छ । प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षा व्यवस्थापनलाई समेत तीव्र पारिएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने तथा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने काममा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार असोज ८ गतेदेखि आएको बाढीपहिरोलगायतका विपद्मा हालसम्म ३१ जनाको मृत्यु भएको छ । गण्डकीमा २०, लुम्बिनीमा ५, बागमतीमा ३, कर्णालीमा २ र मधेस प्रदेशमा १ जनाको मृत्यु भएको हो ।
विपद्मा ८ जना घाइते, १२ जना बेपत्ता र १ हजार ६ सय ४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोबाट १ सय ६८ घर, २० गोठ, ४ पुल, १ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ । यस्तै, १ सय १३ पशुचौपाया मरेका छन् भने २ हजार ३ सय २२ परिवार विस्थापित भएका छन् ।



















