विराटनगर । तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगरका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोरङ प्रहरीले सोमबार राति तास खेलिरहेको अवस्थामा कोइरालासहित ८ जनालाई नियन्त्रणमा लिएको थियो । मंगलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका अन्य व्यक्तिले चिया खान उठाउन खोज्दा कोइराला अचेत अवस्थामा भेटिएका थिए ।
प्रहरीका अनुसार उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरिएको थियो । तर उपचारकै क्रममा बिहान करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।
मोरङ प्रहरीका अनुसार विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति करिब साढे ११ बजे प्रहरीको गस्ती टोली पुगेपछि भागदौड भएको थियो । प्रहरी आएको भन्दै होहल्ला भएपछि भाग्ने क्रममा कोइराला लडेका थिए ।
प्रहरीका अनुसार कोइरालाको यसअघि सडक दुर्घटनामा परी टाउकोको शल्यक्रियासमेत भएको थियो । उनको मृत्युको वास्तविक कारण भने चिकित्सकीय परीक्षणपछि थप स्पष्ट हुने प्रहरीले जनाएको छ ।
सोही क्रममा प्रहरीबाट जोगिन खोज्दा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घरको दुई तलामाथिबाट हामफालेर घाइते भएका छन् । एम्बुलेन्स चालकसमेत रहेका मुखियाको हामफाल्ने क्रममा दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
मुखियाको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अन्य ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
हिरासतमा रहेका अन्य व्यक्तिमा धनपालथान–६ का साजन राजवंशी, विराटनगर–४ का सत्यनारायण राजवंशी र तोरण यादव, विराटनगर–६ का राजेश कामत, गंगाराम मण्डल र विष्णु कामत रहेका छन् । प्रहरीले घटनास्थलबाट तास र ४८ हजार ३९५ रुपैयाँ नगद बरामद गरेको छ ।



















