छोराले मागेको भोट खेर गएन’ भन्दै श्रीमती स्मिताले दिइन् गायक सुमन परियारलाई बधाई

केपि कुमार जलन

गायक सुमन परियार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पदमा अत्यधिक मतका साथ निर्वाचित भएपछि उनलाई श्रीमती स्मिता परियारले बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।

श्रीमती स्मिता परियारले सामाजिक सञ्जालमार्फत श्रीमान्को जितप्रति खुसी व्यक्त गर्दै बधाई दिएकी हुन्। उनले छोराले आफ्ना बुवालाई मतदान गर्न आग्रह गरेको प्रसंगसमेत भावुक शैलीमा साझा गरेकी छन्।

उनले लेखेकी छन्, ‘छोराले मागेको भोट खेर गएन मेरो हजुरलाई राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्य पदमा अत्यधिक मत ल्याएर विजयी हुनुभएकोमा छोराले फोटो हेरेर बधाई दिँदै छन्।’

सुमन परियारको विजयसँगै उनको जिम्मेवारीसमेत थपिएको उल्लेख गर्दै स्मिताले संस्थाको हकहितका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्। साथै, सुमनलाई विश्वास गरेर मतदान गरी विजयी गराउने सम्पूर्ण मतदाताप्रति उनले आभार प्रकट गरेकी छन्।

विजयको खुसीको क्षणमा श्रीमान सँगै हुन नपाए पनि छिट्टै घर फर्किएर सँगै जितको उत्सव मनाउने चाहना व्यक्त गर्दै उनले लेखेकी छन्, ‘यो खुसीको पलमा सँगै हुन नपाए पनि छिट्टै घर आउनुस्, सँगै जितको उत्सव मनाउनु पर्छ। We love you, Daddy।’

श्रीमतीको बधाई र छोराको मायाले सुमन परियारको विजयलाई पारिवारिक खुसीसँग पनि जोडेको छ। सांगीतिक यात्रामा सक्रिय सुमनले अब प्रतिष्ठानको केन्द्रीय सदस्यका रूपमा संस्थाको हकहित, कलाकारको सम्मान र लोकदोहोरी क्षेत्रको विकासका लागि योगदान गर्ने अपेक्षा गरिएको छ।