केपि कुमार जलन/
बागलुङ। बागलुङकी प्रतिभाशाली गायिका सुनिता कामीले लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–८ को ब्लाइन्ड अडिसनमा सहभागी हुने अवसर प्राप्त गरेकी छन्।
संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने सपना बोकेर अघि बढिरहेकी सुनिता ब्लाइन्ड अडिसनका लागि छनोट भएपछि उनको सांगीतिक यात्रामा नयाँ खुसी थपिएको छ। ‘द भ्वाइस अफ नेपाल’ सिजन–८ को छनोटसम्बन्धी प्रमाणपत्र प्राप्त गरेसँगै उनले आफ्नो लामो समयदेखिको सपना पूरा हुने दिशामा एउटा महत्वपूर्ण पाइला अघि बढाएकी हुन्।
बागलुङको माटोबाट आफ्नो सांगीतिक यात्रा अगाडि बढाएकी सुनिताका लागि यो छनोट केवल एउटा अवसर मात्र नभई मेहनत, लगनशीलता र संगीतप्रतिको समर्पणको सम्मानसमेत हो।
छनोटको खुसी सार्वजनिक गर्दै उनले यो उपलब्धिलाई आफ्नो सांगीतिक यात्राको सुन्दर सुरुवात भएको बताएकी छन्। साथै आफूलाई माया, साथ र हौसला प्रदान गर्ने सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गर्दै आगामी यात्रामा पनि निरन्तर साथ र समर्थनको अपेक्षा गरेकी छन्।
‘बागलुङदेखि द भ्वाइस अफ नेपालसम्म’ को यो यात्राले स्थानीय प्रतिभालाई राष्ट्रियस्तरको मञ्चमा चिनाउने आशा जगाएको छ। सुनिताको यस सफलताले बागलुङको सांगीतिक क्षेत्र र यहाँका संगीतप्रेमीमा समेत खुसी थपेको छ।
अब ब्लाइन्ड अडिसनको मञ्चमा आफ्नो स्वर र प्रतिभामार्फत निर्णायक तथा दर्शकको मन जित्ने लक्ष्यसहित सुनिता अघि बढ्नेछिन्।
बागलुङकी छोरी सुनिता कामीलाई सफल सांगीतिक यात्राको हार्दिक शुभकामना!



















