बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न

बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा २०८३ कार्तिक २१ गते शनिबार काठमाडौंको स्वयम्भूस्थित एक पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका सल्लाहकार डा. पूर्णप्रसाद मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, लेखापरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।

साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष ध्रुवप्रसाद खनालले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रका तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बा भए पनि केही ठूला सहकारी संस्थामा देखिएका अनियमितताका कारण समग्र सहकारी क्षेत्र बदनाम हुन पुगेको बताउनुभयो। उहाँले सहकारी ऐन, सहकारीका सात सिद्धान्त तथा विश्वव्यापी मूल्य–मान्यताविपरीत राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थका आधारमा सञ्चालित केही संस्थाका कारण समस्या सिर्जना भएको उल्लेख गर्नुभयो।

सहकारी क्षेत्रका सकारात्मक पक्षलाई संरक्षण गर्दै संस्थागत सुशासन, पारदर्शिता र सदस्यको हितलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। राजनीतिक अस्थिरता, आर्थिक मन्दी, मूल्यवृद्धि, बेरोजगारी, युवाशक्तिको विदेश पलायन तथा उद्योग–व्यवसायमा आएको गिरावटले अर्थतन्त्र प्रभावित भइरहेका बेला समाजमा छरिएर रहेको सानो पुँजीलाई एकत्रित गरी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सहकारी महत्वपूर्ण माध्यम बन्न सक्ने उहाँको भनाइ थियो।

संस्थाले आगामी दिनमा शेयर पुँजी ४ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। १८औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा शेयर खरिद प्रोत्साहन, नियमित बचत वृद्धि, सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षा, व्यावसायिक लगानी विस्तार र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।

संस्थाका अध्यक्ष ध्रुवप्रसाद खनालले सदस्यहरूको आर्थिक अवस्था सुदृढ बनाउँदै सहकारीलाई थप सबल, पारदर्शी र आत्मनिर्भर बनाउने योजनासहित कार्यक्रम अघि बढाइएको बताउनुभयो।

संस्थाको आर्थिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा कर्जा लगानी २०.०६ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म संस्थाको कुल कर्जा लगानी ३३ करोड ३ लाख ५५ हजार २११ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको कुल आम्दानी ४ करोड ५९ लाख २ हजार १२३ रुपैयाँ ६१ पैसा रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा बढेर ५ करोड ३४ लाख १० हजार ९४१ रुपैयाँ ७९ पैसा पुगेको छ।

आर्थिक वर्ष २०८२/०८३ मा बैंकमा निक्षेप राखेबापत ब्याज आम्दानी ७ लाख ६२ हजार ६३९ रुपैयाँ ५९ पैसा र कर्जा लगानीबाट प्राप्त ब्याज ४ करोड ७४ लाख ७६ हजार ८६ रुपैयाँ रहेको छ। त्यस्तै, कर्जा फाराम, सदस्य शुल्क, संस्था विकास शुल्क, विलम्ब शुल्क, जरिवाना, रेमिट्यान्स, खाताबन्दी शुल्क तथा कर्जा मूल्याङ्कनलगायत अन्य शीर्षकबाट ५१ लाख ७२ हजार २१६ रुपैयाँ २० पैसा आम्दानी भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको कुल खर्च ३ करोड ५८ लाख ८२ हजार ५५० रुपैयाँ ८६ पैसा रहेको थियो। आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म बचतमा ब्याज खर्च २ करोड ६६ लाख २७ हजार ७५२ रुपैयाँ ५० पैसा, बाह्य ऋणको ब्याज खर्च ४० लाख ५४ हजार ५१६ रुपैयाँ ८६ पैसा र कर्मचारी तलबमा ४५ लाख ४ हजार ६९१ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।