फागुन २३: चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आज (शनिबार) देखि यातायात सेवा सुरु भएको छ।
सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौं हुँदै थानकोटसम्म ऋद्धिसिद्धि यातायातका २२ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन्।
यातायात सेवाको नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्दै डिजिटल चाँगुनारायणलाई व्यवस्थित बनाउन नगरपालिकाले यो रुटमा सञ्चालन भएका यात्रुबाहक बसमा जिपिएस प्रणाली जडान गरी एप्समार्फत नियमन तथा अनुगमन समेत गरिने बताए।
नगरपालिकाको यस क्षेत्रमा सार्वजनिक यातायातको सहज पहुँच नपुगिरहेको अवस्थामा आजबाट एकैसाथ सञ्चालनमा आउने २२ वटा बसले यहाँका बासिन्दालाई अब यातायातमा चौतर्फी पहुँच पुगेको बताए। चाँगुनारायणबाट भक्तपुरहुँदै रत्नपार्क जाने बससेवा सञ्चालन भइरहेपछि मूलपानी, पेप्सीकोलाहुँदै काठमाडौँसम्म जाने यातायात सेवा नहुँदा समस्या परेकामा अब यो समस्या पनि हटेको उनको भनाइ थियो।
चाँगुनारायणबाट भक्तपुरहुँदै काठमाडौं, जाने र चाँगुनारायणबाटै पेप्सीकोला हुँदै थानकोटसम्म जान यहाँका बासिन्दालाई अब निकै सजिलो भएको भन्दै उनले थानकोटसम्म जाने एउटै रुटको बस यहाँबाट सञ्चालन हुनु निकै उपलब्धि भएको बताए।











