रुसद्वारा युक्रेनको राजधानी किएभ लगायत ४ सहरमा अस्थायी रुपमा युद्धविराम

फागुन २३ः रुसले आक्रमण तीव्र बनाएको युक्रेनको राजधानी किएभ सहित मरिपोल, खार्किभ र सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ ।

ती सहरमा रहेका सर्वसाधारणलाई सहर छाडेर बाहिर जान सजिलो होस् भनेर स्थानीय समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गरेको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।

युद्धका कारण सर्वसाधरणको अवस्था चिन्ताजनक भएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामको निर्देशन दिनुभएको हो । रुसले युद्धविरामका बारेमा संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय रेडक्रस लगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि जानकारी गराउँदै उद्धारमा सघाउन आग्रह गरेको छ ।

यसअघि मरिपोल सहरबाट सर्वसाधारणको उद्धारका लागि दुई पटक युद्धविराम गरेको भए पनि रुसी सेनाले आक्रमण नरोकेपछि उद्धार हुन सकेको छैन ।

रुस–युक्रेन वार्ताका लागि सहयोग गर्न चीन इच्छुक रहेको पनि चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । युक्रेनमा रुसले गएको १२ दिनदेखि आक्रमण गरिरहेको छ ।