नवलपरासीमा पल शाहले दिए आफु बिरुद्ध परेको उजुरीको बयान

फागुन २५: बाल गायिकामाथि बलात्कार गरेको आरोपमा अभिनेता पल शाहले नवलपरासीको कावासोतीस्थित सरकारी वकिल समक्ष बयान दिएका छन् ।

मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो ।अभिनेता शाहलाई अनुसन्धानका लागि यसअघि नै तनहुँबाट गैंडाकोटमा ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि अनुसन्धान गर्नु परेकाले पठाइदिनु भन्दै आग्रह गरेको थियो ।

सोही आधारमा मंगलबार शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँले गैंडाकोट प्रहरीमा पठाएको थियो । जिल्ला प्रहरीका सूचना अधिकृत दिलिप गिरीका अनुसार शाहलाई करिब एक हप्ता राखेर अनुसन्धान अघि बढाइने छ ।

प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।