फागुन २७ः सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै जङ्गलमा लागेको डढेलो निभाउन १९ लाख रुपैयाँभन्दा धेरै रकम खर्च भएको छ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो निभाउन १९ लाख २६ हजार ३ सय ३० रुपैयाँ खर्च भएकोे गाउँपालिकाले जनाएको छ।
पालिकाले डढेलो निभाउन सोमवार, मङ्गलवार र बुधवार सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेको थियो ।
स्थानीय बासिन्दा र प्रहरीको प्रयासले मात्रै आगो निभाउन सम्भव नभएपछि हेलिकप्टर प्रयोग गरिएको र ९५ हजार लिटर पानी प्रयोग भएको वडा नम्बर–२ का वडाअध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिनुभयो।
धुवाँका कारण सोमवार बिहान झन्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेकोे थियो।
















