फागुन २९ः यातायात व्यवसायीले आउँदो चैत ७ गतेसम्म सरकारबाट सार्वजनिक गाडीको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।
पेट्रोलियम पदार्थमा पटक–पटक मूल्य वृद्धि हुँदा पनि गएको असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजलको मूल्य एक सय चार रुपैयाँ हुँदा समायोजन भएको भाडा अहिले एक सय ३३ रुपैयाँ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो । बजारका हरेक वस्तुको मूल्य आकाशिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरूको भनाइ थियो ।
आज आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिक रूपले भाडा दर समायोजन गर्नाका लागि सरकारसँग माग गर्नुभयो । उहाँले चैत ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिनुभएको हो ।
व्यवसायीका अनुसार अहिले तय भएको वैज्ञानिक भाडा प्रणालीअनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत नौ दशमलव ०३, ट्रक ९पहाड० को ११ दशमलव ८२ र ट्रक (तराई) को १३ दशमलव १३ प्रतिशत लागत वृद्धि भएको छ ।
यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधनको लागत आठ दशमलव पाँच प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि वाग्मती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए । गएको असार २७ गते समायोजन भएको भाडा दर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।

















