इँटा उत्पादनमा नयाँ प्रविधि गोरखामा चिम्नी विना इँटा बन्न सुरु

फागुन ३०ः गोरखाको पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेशिनबाट वातावरणमैत्री इँटा उत्पादन सुरु भएको छ ।

गोर्खाको पालुङटारमा कोरियाली कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेशिनबाट वातावरणमैत्री इँटा उत्पादन सुरु गरेको हो ।

नेपालमा अहिलेसम्म चिम्नीको प्रयोगबाट पोलेको इँदा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नी विना नयाँ प्रविधिबाट इन्नोसीएसआरले उच्च प्रविधिको प्रयोगबाट नपोलिएको इँदा उत्पादन सुरु गरेको छ ।

यो कम्पनीले नेपालमा पूर्वाधार निर्माणका लागि असल इँदा पद्धतिबाट प्रविधि तथा वातावरणमैत्री इँदा उत्पादन गर्न सुरु गरेको बताएको छ । कोरियामा सन् २००८ मा स्थापना भएको इन्नोसीएसआर कम्पनी नेपालमा सन् २०१८ आएको थियो ।

अहिले यो कम्पनीले नयाँ प्रविधिबाट अहिलेसम्म कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स र चीनमा गरी पाँच देशबाट इँटा उत्पादन सुरु गरिसकेको छ ।
कम्पनीका सञ्चालक विकास श्रेष्ठले नेपालमा पनि कोरियाली प्रविधिको प्रयोगबाट आगोमा नपोली इँदा उत्पादन सुरु गरिएको बताउनुभयो ।

उहाँले नेपालमा चिम्नीबाट इँटा उत्पादन हुँदा वातावरण प्रदूषण गर्ने गरेकाले थोरै भए पनि वातावरण प्रदूषण कम गर्न वातावरणमैत्री इँटा प्रयोग बढाउने उद्देश्यले उत्पादन सुरु गरिएको बताउनुभयो । उहाँले सरकारसँग वातावरणमैत्री इँटा उत्पादन गर्न ठूला पूर्वाधार निर्माण प्रयोग बढाउने विषयमा समन्वय गर्ने काम भइरहेको बताउनुभयो ।

कम्पनीका इन्जिनियर रमेश न्यौपानेले परीक्षण गरेको माटोमा सिमेन्ट र सोयल स्टेवलाइजर मिसाएर नयाँ प्रविधिबाट इँटा उत्पादन गरिएको बताउनुभयो । उहाँले इँटा उत्पादन गर्दा ९० प्रतिशत माटो र बाँकी सिमेन्ट प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो । ‘यो इँटा उत्पादन गर्दा आगोमा पोल्नुपर्दैन । त्यसले गर्दा वातावरण प्रदूषण कम हुने र उद्योगका लागि सानो जग्गामा पनि इँटा उत्पादन गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।

नेपालमा सन् २०१८ मा इन्नोसीएसआरले इँटा उद्योग स्थापना गरे पनि कोरोना महामारीका कारण उत्पादन गर्न नसकेको तर पछिल्लो चार महिनामा १० लाख इँटा बजारमा पठाएको कम्पनीले बताएको छ ।

कोरियन प्रविधिको प्रयोगबाट स्वचालित मेशिनबाट प्रतिघण्टा ३५ सय इँटा उत्पादन गर्ने सकिने कम्पनीले बताएको छ । आगोमा नपोलेको इँटाको चिम्नीबाट उत्पादन गरिएको इँटाजस्तै ५० देखि ६० वर्षको आयु हुने कम्पनीले बताएको छ । उज्यालो अनलाईनमा समचार छ