फागुन ३०ः सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार राति दुधौली नगरपालिका(५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालले जानकारी दिए।
उनका अनुसार बाडेगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवरको मृत्यु भएको हो।
प्रहरी निरीक्षक नेपाल का अनुसार ‘उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो, बेहुला बेहुली अर्कै गाडीमा गएका थिए। जन्ती बोकेको टिपर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक नेपालले बताए।
टिपरमा चालकसहित २८ जना सवार थिए। दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् भने बाँकी चार जनाको अवस्था भने अझै गम्भीर रहेको उनले बताए। घाइतेको उपचारको लागि दुई जनाको दुधौलीस्थित अस्पताल, चार जनालाई काठमाडौं र ८ जनालाई विराटनगर पठाइएको छ।


















