चैत्र ९ : नेपालमा रेल सञ्चालनका लागि कानुनी बाटो खुला भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको हो । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाका अनुसार अब रेल सञ्चानका लागि कानुनी समस्या हुने छैन । बढीमा दुई साता भित्र रेलको आाधिकारिक रुपमा उद्घाटन गरेर सञ्चालन गरिने उनको भनाइ छ ।
तयारी बिना २०७७ असोजमा ल्याइएका दुई वटा रेल सेटको गत फागुन १ गतेदेखि यात्रुबिना ‘ड्राई रन’ (परीक्षण) जारी छ । यसअघि दुई पटक जारी भएको अध्यादेशको समय गुज्रिएको थियो । अब भने सबै तयारी पुरा भएकाले सञ्चालनमा समस्या नहुने नेपाल रेलवे कम्पनीले जनाएको छ ।
भारत र नेपालका प्रधानमन्त्रीले संयूक्त रुपमा उद्घाटन गरी रेल सेवा व्यवसायिक रुपमा सञ्चालन ल्याउने तयारी छ । त्यसका लागि छिट्टै मिति तय हुने महाप्रबन्धक झाको भनाइ छ । उद्घाटन भर्चुअल्ली हुने जनाइएको छ । कुर्थादेखि जयनगरसम्म यात्रा गर्ने यात्रुले सामान्य ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्नेगरी भाडादर कायम गरिएको छ ।


















